काठमाडौं। मरुसत्तः वा भुतिसत्तः को नामबाट पनि चिनिने काष्ठमण्डप वास्तवमा काठमाडौं नामाकरणको पनि मूल श्रोत हो। ७२ को भूकम्पले ध्वस्त भएको मरुसत्तः अन्तत स्थानियको अग्रसरतामा पूननिर्माणको कार्य समाप्त भएको छ। करिव ११ करोड ३९ लाख खर्च लागेको पूनर्निर्माण पछि भने एउटै रुखबाट बनेको सत्तलको कथा भने समाप्त हुनेछ।
सातौं शताव्दीमा एक बिशाल कल्पबृक्षबाट तैयार बनाइएका काठहरुबाट यो सत्तः बनाइएको किंवदन्ती छ। यो बृक्ष यति बिशाल थियो कि मरुसत्तः बनाएर पनि काठ बच्यो। जसले गर्दा संगै अर्को सत्तः बनाइयो। जसको नाम नै सिँल्य सत्तः हुन पुग्यो। नेवारीमा सिँल्य भनेको बचेको काठ हो। रुख काटिए पछि नजिकैको बहाँःमा दाउरा थुपारिएको हुँदा त्यो बहाःको नाम नै सिँखंमू बहाः हुन पुग्यो।
अझ रमाइलो पक्ष के पनि छ भने भूकम्पले भत्किए पछिको अध्ययनले सत्तः दुइपटक बनाइएको भेटियो। भित्री भागको जग अनुसार सानो सत्तः सातौं शताव्दीमा बनाइएको थियो भने बाहिरी केही ठूलो आकारको तस्विरमा देखाइएको सत्तः नवौं शताव्दीमा बनाइएको थियो। कुनै बेला काठमाडौंको नाम कोलियग्राम थियो। कोलियग्राम दुर्इ भागमा बिभाजित थियो। दक्षिण तर्फको कोलियग्रामलाई भने दक्षिण कोलियग्राम भनिन्थ्यो। नेवाः भाषामा भने सहज रुपले उत्तर तर्फको काठमाडौंलाई थःने र दक्षिण तर्फको काठमाडौंलाई क्वःने भन्ने गरिन्छ।
सातौं शताव्दीमा बनेको पुरानो काष्ठमण्डप जुन सानो आकारमा थियो। जुन दक्षिण तर्फ थियो त्यसको नाम क्वथ्य मरुसत्तः रह्यो। तल्लो तर्फ रहेको सत्तः भएको हुँदा क्वथ्य मरुसत्तस्ःरहेको हुनुपर्छ। त्यस्तै उस्तै आकार प्रकारको अर्को सत्तः माथिल्लो भागमा पनि बनाइयो। जसको नाम थःनेया मरुसत्तः हो। जसलाई बोलिचालिमा थ्या मरुसत्तः भनिन्छ। जुन हालको बाङ्गेमुढामा रहेको छ। किंवदन्तीमा उल्लेख भएको कल्पबृक्षको एउटा हाँगा यहि थःनेयाः मरुसत्तः देखि क्वःनेयाः मरुसत्तः सम्म लामो बचेको थियो। कालान्तरमा त्यो मुढा काटिदै गए पनि एउटा भाग भने रहन गयो। जुन कल्पबृक्षको एक भागको रुपमा रहेको मुढा जसमा काठमाडौंवासीको ठूलो विश्वास अझै पनि रहेको छ। यस मुढामा किल्ला ठोकेर सिक्का गाड्दा जस्तो सुकै समस्या भएर दुखेको दाँत पनि निको हुन्छ भन्ने जनविश्वास छ। यसरी बिभिन्न किंवदन्तीहरु बिच पनि कतिपय विश्वासहरु अडिएको छ। साथै ति दैनिक जीवनमा साँचो झै भइरहेको छ। सुनिल उलकको फेसबुकबाट साभार गरिएको हो।