काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले दिएको निर्देशन अनुसार नेपाल नागरिक उड्यन प्राधिकरणले विमानस्थल सञ्चालनको कार्ययोजना नबनाएको बताएका छन्।
मन्त्री गुरूङले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको कार्ययोजना र कार्यविधि बनाउन निर्देशन दिए पनि प्राधिकरणले अहिलेसम्म नबनाएको बताएका हुन्।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षका अवसरमा आयोजना गरेको सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरूङले भने, ‘नेपाल नागरिक उड्यन प्राधिकरणले आफू मातहतको अन्तर्राष्ट्रिय विमानस्थल कसरी चलाउने भनेर कार्यविधि बनाउन पर्छ कि पर्दैन? योजना बनाउन पर्छ कि पर्दैन? सरकारले कार्ययोजना बनाउन निर्देशन दिइसक्यौं, अहिलेसम्म बनाएको देखिँदैन।’
मन्त्री गुरुङले यी दुई विमानस्थल चलाउन सरकारले २० बुँदे कार्ययोजना पारित गरेको समेत जानकारी दिए।