काठमाडौं। रौतहटको गौर नगरपालिका–२ मा बुद्धकालीन अवशेष भेटिएको छ। प्राचीन बानेश्वरनाथ मन्दिर क्षेत्रमा पुरातत्व विभागको टोलीले उत्खनन गर्दा सोमबार बुद्धकालीन अवशेषहरू फेला परेको हो।
१२ दिनदेखि उत्खनन गरिरहेको टोलीले सोमबार देशमा अहिलेसम्म नपाइएको औंलाको छाप भएको इँटा भेटिएको जनाएको छ। उत्खननको क्रममा दुईवटा बुद्धकालीन इँटा, बुट्टा काटेको इँटाहरू पनि भेटिएको छ।
उत्खननको क्रममा भेटिएका इँटाहरू सिम्रोनगढ दरबार तथा छेउछाउ भेटिएका इँटा जस्तै रहेकोले यो अवशेष धेरै पुरानो भएको विभागको भनाइ छ।विभागका अनुसार झन्डै एक महिना अघि बाराको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुर स्थित बलकिया माई मन्दिरको उत्खनन क्रममा भेटिएका इँटाको आकार जस्तै इँटा यहाँ पनि फेला परेको हो।
मन्दिर छेउमा चार ठाउँमा उत्खनन भइरहेको छ । त्यस क्रममा केही प्राचीनकालीन माटोको भाँडो कुरुवाको टुक्रा, बच्चाले खेल्ने घोडाको टुक्राको अवशेष पाइएको विभागले जनाएको छ।