काठमाडौं। सिरहाको कर्जन्हा नगरपालिकामा नाला निर्माण हुने भएको छ। पछिल्लो समय नगरपालिकाले पूर्वाधार विकास निमार्णको कामलाई तिव्रता दिएसँगै नगर परिसरको नाला निर्माण परियोजनालाई अघि बढाएको हो। यस कार्यले नगरक्षेत्रको ढल व्यवस्थापनमा सहयोग पुग्ने देखिएको छ।
नगरपालिकाले वडा नं. ६ अन्तर्गत अमर नाथ घर देखि रामजानकी कुट्टी जाने बाटोसम्म, चर्च देखि चपुत्रासम्म र बेत्हाकोस्कुल टोलमा नाला निर्माण गर्ने भएको छ। नाला निर्माण भएपछि सडक कालोपत्रे जस्ता काम पनि गर्ने नगरपालिकाको योजना रहेको छ। नाला व्यवस्थापन नहुँदा सो क्षेत्रका स्थानीयले सास्ती भोग्दै आएका छन्।
नगरपालिकाको कार्यलयले नाला निर्माणको लागि ठेक्का आह्वान गरिसकेको छ। अमर जानकी घरदेखि रामजानकी कुट्टी जाने बाटोमा नाला निर्माण गर्न करिब ४५ लाख लाग्ने अनुमान गरिएको छ भने चर्च देखि चपुत्रासम्म करिब ३३ लाख र बेत्हाकोस्कुल टोलमा नाला निर्माणको लागि १० लाख लागत लाग्ने अनुमान गरिएको छ। सो क्षेत्रमा नाला निर्माण भएपछि ढल व्यवस्थापन गर्न सहज हुने साथै नगर परिसर सफा हुने नगरपालिकाको कार्यलयले जनाएको छ।