काठमाडौं। बनेपा नगरपालिका–१०, पुलबजारमा रहेको सेतोपाटीको पुनर्निर्माण गर्न राक लगाइएको छ। पुरातत्त्व विभागले सेतोपाटीको मौलिक स्वरूप बिगार्न नहुने भन्दै सेतोपाटीमा फलामे पाली हाल्ने काममा रोक लगाएको हो।
बनेपा नगरपालिका १० नम्बर वडा कार्यालयले ऐतिहासिक सेतोपाटीमा फलामे पाली हाल्ने काम सुरु गरेको थियो। सेतोपाटीको मौलिक स्वरुप विगार्न लागेको भन्दै स्थानीयले विरोध गरी विभागमा उक्त कार्य रोक्नका लागि निवेदन दिएका थिए ।
स्थानीयवासी र अभियान्ताको विरोधपछि विभागले स्थलगत अध्ययन गरी ऐतिहासिक सेतोपाटीमा सञ्चालन गरिएका कार्यालय तथा पाटीको मौलिक स्वरूपलाई नै असर पर्ने गरी थप गर्न लागिएका नयाँ संरचना तत्काल हटाउन निर्देशन दिएको हो।
बनेपा नगरपालिका–१० वडा कार्यालयले चालु आवमा उक्त सेतोपाटीमा पुस्तकालय स्थापना, इन्टरनेट सेवा, विद्युत् सेवा जडान गर्नका लागि चार लाख रुपियाँ विनियोजन गरेकोमा केही रकमले पाटीमा विश्रामस्थल बनाउने उद्देश्यले पाली बनाउन थालिएको थियो।