काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले चालु आर्थिक वर्षभित्रै धरानको खानेपानी समस्या समाधान हुने बताएका छन्। खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क राई (साम्पाङ) सँगको भेटमा मन्त्री यादवले चालु आर्थिक वर्षभित्र नै धरानको खानेपानीको समस्या समाधान हुने प्रतिबद्धता जनाएका हुन्।
मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधानका लागि मन्त्रालयले पहिलेदेखि नै आवश्यक पहल गरिरहेको बताए। उनले धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि योजना छनोट भइसकेको समेत जानकारी दिए ।
उनले खानेपानी आयोजनाका लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन धरान उपमहानगरपालिकाले गर्नुपर्ने स्पष्ट पारे । खानेपानी आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम बाँकी रहेको बताउँदै उनले जग्गा व्यवस्थापन भएपछि छिट्टै नै बोलपत्र आह्वान गरिने जानकारी दिए ।