पाल्पा। जिल्लाको रिब्दीकोट गाउँपालिकामा रहेको ‘लिस्नेभीर’ को बाटो केही वर्षअघि सम्म मान्छे हिँड्न डराउँथे। चारैतिर भिरालो र डरलाग्दो अग्लो ढुङ्गे पहाडमा लास बोकेर मलामि मात्र हिँड्ने गर्थे।
समय बदलियो। लास बोकेर मलामि मात्र हिँड्ने यो भीरमा अहिले मोबाइल बोकेर सेल्फि खिच्नेहरु पुग्न थालेका छन्।
लिस्नेभीर पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ। यो पहाडलाई गाउँपालिकाले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागेको छ।
गाउँपालिकाले लिस्नेभीरसम्म पुग्ने सडक र टाकुरोमा बस्ने स्थान बनाएको छ। यहाँ आन्तरिक पर्यटकहरु आउने गर्दछन्। गाउँपालिकाले लिस्नेभीरलाई सेल्फीडाँडा नामाकरण गरेर विकास गर्दै लगेको छ।
लिस्नेभीरमा पर्यटकको दुर्घटना जोखिम कम गर्न रेलिङ निर्माण कार्य भइरहेको छ। गाउँपालिकाले लिस्नेभीरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ ।
लिस्नेभीर तानसेनदेखि करिब २३ किलोमिटर दुरीमा पर्दछ। चुचुरोबाट प्रसिद्ध धार्मिक तीर्थस्थल रिडी, कालीगण्डकी नदीको बहाव, अर्गली फाँटसहित गुल्मी, पाल्पा र स्याङ्जाका रमणीय स्थलहरु हेर्न सकिन्छ।