काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कंके देउराली जलासय र बृहत्तर खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार मदाने गाउँपालिका–६ गुल्मीमा रहेको कंके देउराली जलासय र बृहत्तर खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका हुन्।
आयोजनाको स्थलगत निरीक्षण तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने आधारका रूपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए। कंके देउराली जलासय र बृहत्तर खानेपानी आयोजना समग्र तीन जिल्लाको भाग्य भविष्य निर्धारण गर्ने महत्वपूर्ण हुने चर्चा गर्दै आयोजनालाई तीन तहका सरकारले साझा योजनाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
लुम्बिनी प्रदेश सरकारले प्रदेशको संस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन सर्किट निर्माण गर्ने योजना प्रदेश सरकारले अघि सार्दै आएको छ। प्रदेशभित्रका प्रमुख धार्मिक स्थल, पुरातात्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरूलाई आसपमा जोडेर आकर्षक सर्किट निर्माण गरिने, यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे।