काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले सुनकोशी र हेटौडास्थित राप्ति खोलाको पानी ल्याएर तराई–मधेसको खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। आइतबार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, निजगढ, बाराको नवौँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन्।
मन्त्री यादवले जलवायु परिवर्तनको असर, भूकम्पका कारण तथा चुरे दोहनका कारण तराई–मधेसमा पानीका चापाकलदेखि मुहानहरू सुक्दै जान थालेकाले अब पानीको निकै समस्या उत्पन्न हुने बताए ।
उनले भने, “खानेपानीको क्षेत्रमा निकै चुनौती रहेको छ । सुनकोशी र हेटौडाको राप्ति खोलाको पानी ल्याएर ट्रिटमेन्ट गरेर दीर्घकालीन रूपमा यहाँको खानेपानीको समस्या समाधान गर्नका लागि योजना बनाएर अघि बढ्दैछौँ ।”
मन्त्री यादवले तराई–मधेसका ६ जिल्ला (खासगरी सप्तरीदेखि पर्सासम्म)मा सुनकोशी डाइर्भसनबाट शुद्ध खानेपानी ल्याउन करिब रु ४६ अर्बको बजेट भएको र अन्य डिजाईनको टेण्डर भएमा एवं आफूले विज्ञसँग गरेको सल्लाह अनुसार करिब रु ५० अर्ब लागत लाग्ने अनुमान गरिएको बताए ।