काठमाडौं। अछामको मंगलसेनमा रहेको अछाम दरबारको पुनर्निर्माण गरेर उद्घाटन गरिएको छ। संघीय सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सोमबार बिहान उक्त दरबारको उद्घाटन गरेका हुन्।
२०५८ सालमा माओवादी आक्रमणबाट ध्वस्त भएको दरबार पुनर्निर्माण गर्न सुरु गरिएको १६ वर्षपछि सम्पन्न भइ उद्घाटन गरिएको हो।
उद्घाटनका क्रममा बोल्दै अछामको पहिचान बोकेको दरबारलाई सदुपयोग गरेर नयाँ पुस्तालाई ऐतिहासिक महत्वको बारेमा जानकारी दिनुपर्ने बताए।
अछाम दरबारमा साविकका कार्यालय सञ्चालन गर्ने कि संग्राहलयका रुपमा विकास गर्ने भन्नेबारे छलफल भइरहेको प्रतिनिधिसभा सदस्य पुस्पबहादुर शाहले बताए ।
दरबार संरक्षणका लागि मन्त्रालयले बजेट उपलब्ध गराउनुपर्ने मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताए । २ करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको सहरी विकास मन्त्रालयका महानिर्देशक मचाकाजी श्रेष्ठले बताए । उनका अनुसार दरबार ३ सय २० वर्गमिटरमा बनेको छ भने दरबार क्षेत्रको जम्मा क्षेत्रफल ९ सय ६० वर्गमिटर रहेको छ । दरबार परिसरको संरचना र संरक्षणका लागि चालु आवमा मन्त्रालयले मातहत कार्यालयबाट बजेट चलाउन मिल्ने गरी २ करोड बजेट छुट्याइएको र टेन्डर आवाहन भइसकेको बताइएको छ।