मोरङ। मोरङमा पथरी खानेपानी आयोजना निर्माणका लागि शिलान्यास गरिएको छ। खानेपानी मन्त्री प्रदीप यादवले मोरङको पथरीशनिश्वरे नगरपालिकास्थित पथरी खानेपानी आयोजनाको शिलान्यास गरेका हुन्।
खानेपानी आयोजनाको शिलान्यासका क्रममा मन्त्री यादवले पथरीशनिश्वरे खानेपानी आयोजनाको शिलान्यास समारोह केवल पूर्वाधार निर्माणको घोषणा मात्र नभएर सरकारको प्रतिबद्धताको प्रतीक रहेको दाबी गरे।
उनले ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिँदै देशभर खानेपानीको सहज पहुँच विस्तार गर्ने, संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा खानेपानी तथा ढल व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, जलस्रोत संरक्षण तथा प्रविधियुक्त व्यवस्थापन गर्दै दिगो खानेपानी सेवा प्रवाह गर्ने नेपाल सरकारको दृढ प्रतिबद्धता समेत गरेका छन्।
नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको मन्त्री यादवको भनाइ छ।