मोरङ। खानेपानी मन्त्री प्रदीप यादवले मुलुकभरका नागरिकमा स्वच्छ पानी पुर्याउने कार्य तीव्र रहेको बताएका छन्। मोरङमा पथरी खानेपानी आयोजनाको शिलान्यासका क्रममा मन्त्री यादवले ‘एक घर, एक धारा’ अभियानमार्फत सरकारले मुलुकभरिका नागरिकसम्म स्वच्छ पानी पुर्याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको दाबी गरेका हुन्।
उनले मन्त्रालयले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवालाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गर्ने अठोट लिएको बताए । ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्न सबैको एकताबद्ध सहभागिता आवश्यक रहेको पनि उनको भनाइ छ ।
उनले ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिँदै देशभर खानेपानीको सहज पहुँच विस्तार गर्ने, संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा खानेपानी तथा ढल व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, जलस्रोत संरक्षण तथा प्रविधियुक्त व्यवस्थापन गर्दै दिगो खानेपानी सेवा प्रवाह गर्ने नेपाल सरकारको दृढ प्रतिबद्धता समेत गरेका छन्।
नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको मन्त्री यादवको भनाइ छ।