काठमाडौं। निर्माण कार्यमा लापरवाही देखिएपछि धर्मकीर्ति महाविहारको विहार निर्माण कार्य रोकिएको छ। काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा रहेको अनुगमन समितिले धर्मकीर्ति महाविहारको विहार निर्माण कार्य रोकेको हो ।
समितिले निर्माण कार्यको अनुगमन गर्दा भर्याङ जोखिमपूर्ण भेटिएको भवन निर्माण प्रक्रियामा लापर्वाही देखिएपछि निर्माण कार्य रोकेको जनाएको छ ।
समितिले जोखिमपूर्ण भर्याङ भत्काउन, सुपरभाइजर र साइट इञ्जिनियरको लिखित स्वीकृति बिना थप काम अगाडि नबढाउन समेत निर्देशन दिएको छ। जमिन तलाबाट पहिलो तलामा जाने भर्याङका तलाहरुको उचाइ फरक फरक भएको, साँघुरो भएको, ढलान गर्न जोडिएका फर्मामुनि इटा राखिएको, सुपरभाइजर र इञ्जिनियरले यसअघि दिएका निर्देशन पालना नगरेको अवस्था पाइएकाले निर्माण कार्य रोकिएको महानगरले जनाएको छ।
अनुगमनका क्रममा समितिका संयोजक एवं कामपाको उपप्रमुख डङ्गोलले पूर्वाधार निर्माणमा भइरहेका गलत क्रियाकलापमा आँखा चिम्लिन नसकिने बताइन् ।