काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएका छन् । बिहीबार सीपीसीको अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीनको चोङ्किङ पुगेका शर्माले बिहीबार चिनियाँ सरकारी टोलीसँगको वार्तामा चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएका हुन् ।
उनले समाजवादको बाटो नेपालले अङ्गीकार गरिसकेको अवस्थामा यसका लागि चीनको सहयोग झन् आवश्यक रहेको समेत बताए । नेपालमा अहिले बहुदलीय व्यवस्था भए पनि लक्ष्य समाजवाद भएको बताउँदै उनले यो तत्कालका लागि मात्र भएको जानकारी दिए । माओवादी केन्द्र समाजवादी विचारबाट विचलित नभएकोले चीनको साथ आवश्यक भएको धारणा समेत उनले राखे ।
विचार गोष्ठीको क्रममा आफ्नो धारणा राख्दै शर्माले नेपाल चीन सम्बन्धको ७० वर्ष पुगेको विषय समेत उल्लेख गरे । उनले माओवादी क्रान्तिको प्रेरणा चिनियाँ कम्युनिस्ट पार्टी भएको बताउँदै चिनियाँ र नेपालबिच नागरिकदेखि नागरिक सम्मको सम्बन्ध झन् बलियो हुँदै गएको उल्लेख गरे ।