काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको लेदोसहितको बाढीले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा इतिहासकै ठूलो क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार बाढीबाट जलविद्युत् क्षेत्रमा मात्रै १ खर्ब ५१ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। क्षतिग्रस्त आयोजना पुनर्निर्माण तथा पुनःप्राप्तिका लागि करिब ३ खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ।
बाढीबाट १३ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। माथिल्लो त्रिशूली–१, रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे, लाङटाङ र रसुवा भोटेकोशीलगायत आयोजनामा बाँध, विद्युत्गृह तथा सुरुङमा लेदो र ढुंगा भरिँदा ठूलो क्षति पुगेको छ।
आयोजनामा फसेका तथा बेपत्ता कामदारको खोजी नेपाली सेनासहित विभिन्न उद्धार टोलीले जारी राखेका छन्। यता, प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापनाका लागि पनि तीव्र रूपमा काम भइरहेको प्राधिकरणले जनाएको छ। हाल रसुवाका करिब ८० प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति पुनःसुचारु भइसकेको छ।