बारा । बारा जिल्लाको सदरमुकाम कलैयाको भरत चौकमा पुनर्निर्माण गरिएको पार्कको औपचारिक उद्घाटन गरिएको छ । नेपाली सेनाले पुनर्निर्माण गरेको पार्कको नेपाली सेनाका मध्यपूर्वी पृतनाका पृतनापति उपरथी कृष्ण प्रसाद जिसी र कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उपरथी जिसीले नेपालका सम्पूर्ण वर्ग र समुदायले देशको सुरक्षा र समृद्धिमा योगदान दिएको उल्लेख गर्दै, त्यसको संरक्षण सबैको साझा जिम्मेवारी रहेको बताए । उद्घाटनपछि उपरथी जिसीले पार्कको औपचारिक हस्तान्तरण नगरप्रमुख साहलाई गरेका छन्।
पार्कमा मधेशका वीर सैनिकहरूको प्रतिनिधित्व स्वरूप नेपालको नक्साको दुबै छेउमा भाला बोकेका दुई मधेसी व्यक्तिहरूका मूर्तिहरू स्थापना गरिएको छ । कलैयाको केन्द्रमा रहेको पार्क विगतमा जीर्ण भइसकेको थियो । त्यसको पुनर्निर्माण नेपाली सेनाको ब्रह्मपुरीस्थित ज्वालादल गणले गरेको हो ।