काठमाडौं । सिंहदरबारमा बोतल र जारको पानी बन्द गरिने भएको छ । खानेपानी मन्त्री प्रदीप यादवले बुधबार सिंहदरबार भित्र मेलम्चीको खानेपानी वितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन गर्दै सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गर्ने बताएका हुन् ।
उनले सिंहदरबार भित्र पनि चाँडै मेलम्चीको पानी वितरण हुने बताए । उनले भने, ‘सिंहदरबारमा वर्षौंदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष्य अनुसार काम अगाडी बढिरहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ ।’
वैशाख अन्तिम सातासम्म सिंहदरबारमा मेलम्चीको सफा, शुद्ध पानी वितरण गर्ने मन्त्री यादवको भनाइ छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत यहाँका मन्त्रालयहरूमा मेलम्चीको पानी वितरण गर्नका लागि मन्त्री यादव सहितको टोलीले आज अनुगमन गरेको थियो ।