सिरहा । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माण गर्न लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्यव समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबीच भएको छलफलमा स्मारक व्यवस्थापनका लागि सहमति जुटेको हो ।
सहिद स्मारकलाई करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवनको अगाडि स्थानान्तरण गरिने सहमति जुटेको छ ।
लामो प्रयास र निरन्तरको छलफलपछि चार लेन सडक विस्तारका लागि अवरोध नहोस् भन्ने उद्देश्यले सालिकलाई स्थानान्तरण गर्ने निर्णय भएको जनप्रतिनिधिहरुको भनाइ छ ।
कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिका लागि चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ठेक्का पाएर विगत चार वर्षदेखि काम गरिरहेको छ । यस क्रममा लहान बजारको मुख्य चोकमा ‘फ्लाइओभर’ र ‘अन्डरपास’ संरचना निर्माणका लागि सडकको बीच भागमा रहेको मधेस आन्दोलनका क्रममा सहिद भएका रमेश महतो, विजय सहनी, प्रमोद सदा, बेचन यादव र मोहम्मद अनिस अन्सारीको सम्झनामा निर्मित स्मारकको कारण समस्या हुँदै आएको थियो ।