काठमाडौं । सिरहाको लहानस्थित सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ निर्माण गर्न शिलान्यास गरिएको छ । पार्क निर्माणका लागि जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
पार्क निर्माणका लागि मधेस प्रदेश सरकारले ८० लाख विनियोजन गरेको छ । डिभिजन वन कार्यालयले आगामी असार १५ भित्र पार्क निर्माण गर्ने गरी काम अगाडि बढेको छ । मुख्यमन्त्री सिंहले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सलहेश फूलबारी क्षेत्रको विकासका लागि ‘मास्टर प्लान’ सहित प्रदेश सरकारले योजना अघि बढाएको बताए
डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार पार्कभित्र बाबासाहेव भीमराव अम्बेडकरको पूर्णकदको शालिक, पानीको झरना, हात्तीको मूर्ति, प्रवेशद्वारलगायत संरचना बनाइने छन् । धार्मिक वनअन्तर्गत करिब नौ बिघा क्षेत्रफलमा यो क्षेत्र फैलिएको छ । पार्क निर्माणामा थप सहजताका लागि मन्दिरका पुजारी एवं स्थानीय जीतेन्द्रदेव धामीले फूलबारीसँगै जोडिएको आफ्नो नामको १० घुर जग्गासमेत दान गरेका छन् ।