काठमाडौं। काठमाडौंको नरःदे (हाँडीगाउँ) स्थित भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन निर्माण गरिने भएको छ । भवन निर्माणका लागि आज काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडा नं.५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले वैदिक विधिअनुसार जग पूजा गरी शिलान्यास गरेका हुन्।
२ करोड ८४ लाख अनुमानित लागत रहेको भवनको ग्राउन्ड फ्लोरमा प्राङ्गण हुनेछ भने सडकतर्फ फल्चा निर्माण गरिनेछ । भवनभित्र बहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष र कार्यालय कक्षसहितका सुविधा रहनेछन् । यो भवन नेपाल मण्डलको परम्परागत वास्तुशैलीमा निर्माण गरिनेछ । सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ७४ लाखमा ठेक्का सम्झौता भइसकेको छ । निर्माण कम्पनीले २०८२ को चैत मसान्तभित्र भवन निर्माण सम्पन्न गर्नुपर्नेछ।
शिलान्यास कार्यक्रममा उपप्रमुख डंगोलले सम्पदाको मूल्य कुनै पनि वस्तुसँग तुलना गर्न नसकिने बताइन् । उनले मौलिक स्वरूपमा सम्पदा पुनरुत्थानमा महानगरले लगानी बढाइरहेको बताएकी छिन्।
वडाध्यक्ष प्रजापतीले हाँडीगाउँलाई प्राचीन नरःदेको स्वरूपमा पुनःस्थापित गर्ने अभियानअन्तर्गत यो भवनको फल्चा निर्माण एउटा महत्वपूर्ण कदम भएको बताए।