काठमाडौं। भोजपुरको षडानन्द नगरपालिका–९ मा लमुखोला खानेपानी आयोजना निर्माण हुने भएको छ। प्रदेश १, षडानन्द नगरपालिका कार्यपालिकाको कार्यलय दिङ्ग्ला भोजपुरले सो आयोजना निर्माण गर्ने भएको हो।
लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका षडानन्दका स्थानीयवासीहरुको समस्यालाई समाधान गरी हरेक घरधुरीमा खानेपानीको पहुँच पुर्याउने उद्देश्यले नगरपालिकाले सो योजनालाई अगाडी बढाएको हो। नगरपालिकाले खानेपानी आयोजना निर्माणको लागि ठेक्का आह्वान समेत गरिसकेको नगरपालिकाको कार्यलयले जनाएको छ।
लमुखोला खानेपानी आयोजना निर्माणको अनुमानित लागत १ करोड ९४ लाख ८३ हजार रहेको छ। सो आयोजना निर्माणको लागि ३० दिने बोलपत्र आह्वान गरेको र त्यसका सबै प्रक्रिया पुरा भइसकेपछि निर्माण कार्यलाई अघि बढाउने नगरपालिकाको योजना रहेको छ।
त्यहाँका स्थानीयवासीहरुले नजिकैको खोलाबाट पानी बोकेर खानेपानीको समस्या टार्दै आएका छन्। खोलाको पानी वर्षातमा बाढी आएर फोहोर हुन्छ तर उनिहरुका लागि त्यहि पानी पिउनु पर्ने बाध्यता रहेको छ। जसले गर्दा कतिपय केटाकेटी र बुढाबुढीहरु विभिन्न रोगको शिकार पनि बन्ने गरेका छन्। तर अब गाउँमा नै एक घर एक धारा अन्तर्गत खानेपानी आयोजना निर्माण हुने भएको छ। सो खानेपानी आयोजना निर्माण भएपछि यी सबै समस्याहरु समाधान हुने साथै प्रत्यकको घरमा स्वच्छ खानेपानीको पहुँच पुग्ने नगरपालिकाले जनाएको छ। यसले स्थानीयवासी हर्षित बनेका छन्।