काठमाडौं। रुकुमको सिस्ने गाउँपालिका–२ मा सहिदहरुको सम्झनामा नेता सहिद स्मृती पार्क निर्माण गरिने भएको छ। सिस्ने गाउँपालिका र प्रदेश सरकारको करिब ४ करोड लगानीमा सो पार्क निर्माण गर्न लागिएको हो।

द्धन्द्ध कालमा मारिएका सहिदहरुलाई सम्मान गर्ने उद्देश्यका साथ नेता स्मृति सहिद पार्क निर्माण गर्न लागिएको सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहालले जानकारी दिएका छन्। सिस्ने गाउँपालिका पर्यटकीय गन्तव्यको स्थल भएका कारणले पनि सो क्षेत्रमा पार्क निर्माण गर्न लागिएको उनले बताएका छन्। हिमाल आरोहीहरुको लोकप्रिय सिस्ने हिमाल पनि सो क्षेत्रमा नै पर्ने साथै सिस्ने हिमाल आरोहण गर्न जाने रुट पनि त्यहिबाट पर्ने उनले जानकारी दिएका छन्। यसैगरी सिस्ने हिमाल आरोहण गर्न जाने आरोहीहरुलाई लक्षित गरेर सो क्षेत्रमा होमस्टे पनि निर्माण गरी सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिएका छन्।

सिस्ने गाउँपालिका भन्दा तल्लो भेगमा एकदमै रमणीय बस्तीहरु भएकाले गर्दा त्यसको दृश्यावलोकन गर्न आउने पर्यटकहरुलाई लक्षित गरी सो पार्क निर्माण गर्न लागिएको उनको भनाइ छ। नेता सहिद पार्कमा द्धन्द्ध कालमा सहिद भएका सहिदहरुको सालिक पनि राख्ने योजना रहेको उनले जानकारी दिएका छन्। यस कार्यले सहिद भएकाहरुको परिवार पनि खुसी हुने उनको विश्वास रहेको छ। सहिद पार्क निर्माणले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउने उनले जनाएका छन्। साथै पर्यटकीय गतिविधि बढसँगै आर्थिक गतिविधि पनि बढ्ने देखिएको छ।