काठमाडौं। गण्डकी प्रदेशको लमजुङ जिल्ला अन्तर्गत क्व्होलासोथर गाउँपालिकाको मालिङमा मालिङ खानेपानी आयोजना निर्माण हुने भएको छ। गाउँपालिकाको केन्द्र रहेको मालिङमा गाउँ कार्यपालिकाको कार्यलयले सो आयोजना निर्मार्ण गर्न लागेको हो।
क्व्होलासोथर गाउँपालिका आन्तरिक तथा बाह्य पर्यकका प्रमुख गन्तव्य पनि हो। भौगोलिक बनावटले पनि सुन्दर अनि गुरुङ समुदायको बाहुल्यता भएको यस क्षेत्रमा एसिया महादेशको नमुना गाउँ घलेगाउँ र भुजुङ पनि पर्दछ। यसैगरी पूर्वाधार विकासको क्रममा नेपालकै दास्रो होमस्टेको अवधारणा पनि यहि गाउँपालिकाबाट सुरु भएको थियो। क्व्होलासोथर गाउँपालिकाले कृषि पर्यटन र आन्तरिक रीति–संस्कृतिले पनि छुट्टै पहिचान बनाएको छ। उक्त गाउँपालिकामा प्राचिन संस्कृति र पहिचानलाई जगेर्ना गर्ने उद्देश्यले संग्रहालय साथै घले राजाको मूर्ति पनि निर्माण गरिएको छ। साथै मालसामान ओसार पसार गर्न भुजुङमा रोप–वे निर्माण गरिएको छ। साथै पूवाधार विकासकै क्रममा गाउँपालिकाले खानेपानी आयोजना पनि निर्माण गर्न लागेको हो।
पर्यटकको लोकप्रिय थलोको रुपमा रहेको उक्त गाउँपालिकास्थित मालिङमा हालसम्म खानेपानीको राम्रो व्यवस्था नभएको कारणले गर्दा त्यहाँका स्थानीयको प्रत्यक घरमा एक घर एक धारा अन्तर्गत सो कार्य गर्न लागेको गाउँपालिकाको कार्यलयले जनाएको छ। उक्त खानेपानी आयोजना निर्माण भएपछि मालिङका सबै घर लाभान्विित हुनेछन्। साथै त्यहाँ जाने पर्यटकहरुलाई पनि थप सहज हुने भएको छ।
गाउँपालिकाको कार्यलयले मालिङ खानेपानी आयोजना निर्माणको लागि ठेक्का आह्वान गरेको छ। सो आयोजना निर्माणको अनुमानित लागत १ करोड ७१ लाख ५ सय ४७ रुपैँया रहेको छ। गाउँमा नै खानेपानी निर्माण हुने कुराले खानेपानीको समस्या झेल्दै आएका मालिङवासीहरु खुसी भएका छन्।