लुम्बिनी । भारतका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवईले लुम्बिनी क्षेत्रको भ्रमण गरेका छन् । प्रधानन्यायाधीश भुषण रामकृष्ण गवईले आज मायादेवी मन्दिर परिसरमा पुगेर बुद्ध जन्मस्थल अवलोकन गर्दै सूत्रपाठ गरेका हुन् ।
उनले विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र भारत–नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै दियो प्रज्वलन समेत गरेका छन् ।
न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल यात्रा हो भने लुम्बिनी आगमनलाई उनले विशेष आध्यात्मिक अवसरका रूपमा लिएका छन् । गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), सदस्य–सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईसहित कोषका अधिकारी तथा कर्मचारीहरूले स्वागत गरेका थिए ।
लुम्बिनी भ्रमणपछि गवईले लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग गुरुयोजना र हाल सञ्चालनमा रहेका विकास–निर्माणका गतिविधिबारे चासो देखाए। उनले लुम्बिनीलाई अन्तरराष्ट्रियस्तरमा थप प्रचारप्रसार गर्न नेपालले गरेको प्रयासको प्रशंसा गरे । यस क्षेत्रमा भारतको सहकार्य निरन्तर रहने विश्वास उनले व्यक्त गरे ।