काठमाडौं। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। काठमाडौंको आकाशमा हिजो बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको हो।
मौसम खराबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए।
मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुननसकेको जनाइएको छ। बाक्लो कुहिरो र हुस्सुका कारण आईएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए।
धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ। हिजो काठमाडौँको न्यूनतम ३ दशमलब ६ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सियस रहेको थियो।