जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५ मा पुरातात्विक शैलीमा गणेश मन्दिर निर्माण गरिएको छ । ललितपुर महानगरपालिकाको सहयोगमा निर्माण गरिएको मन्दिरको ललितपुरका नगरप्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका छन् ।
चन्दननाथमा निर्माण गरिएको गणेश मन्दिरका लागि ललितपुर महानगरले रु ३५ लाख सहयोग गरेको थियो । त्यसमध्ये १९ लाख ७५ हजार खर्च भएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए । बाँकी रकम मन्दिरको प्रवेशद्वार बनाउन खर्च गरिने उनले बताए ।
मन्दिर उद्घाटन गर्दै मेयर महर्जनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक सम्पदा संरक्षण गर्न आवश्यक रहेको बताए । प्रमुख महर्जनले ललितपुर महानगरमा भएका मन्दिर जस्तै झल्को दिने गरी मन्दिर निर्माण गरिएको बताए । चन्दननाथका पुराना सम्पदालाई संरक्षण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।