काठमाडौं। गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ उजुङमा खानेपानीको समस्या समाधान भएको छ। दुनदुरे खोलाबाट लिफ्टिङ आयोजनामार्फत पानी तानेर उजुङका २८४ घरमा खानेपानी सुविधा पुगेको हो।
विगतमा पानीको लागि लामो समय लगाएर टाढा जानु पर्ने समस्या समाधान भएको स्थानीयले बताए। नजिकका मुहान सुकेपछि पानी लिन जाँदा आधा रातमै उठेर जानुपर्ने उनिहरुको बाध्यता थियो। ०७० सालमा सुरु भएको दुनदुरे खोला उजुङ हर्पुकोट खानेपानी आयोजना ०७७ सालमा पूरा भएको हो।
उक्त आयोजनामा संघीय सरकारले ३ करोड १६ लाख ४१ हजार तथा स्थानीय तह र उपभोक्ताले ७९ लाख ३६ हजार २३१ रुपैयाँ लगानी गरेका छन्। गाउँमा खानेपानीको सहज व्यवस्था भएपछि स्थानीय खुसी भएको खानेपानी आयोजनाले जनाएको छ।