काठमाडौं। बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ। दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको राम्रो व्यवस्थापन नहुँदा त्यहाँका स्थानीयले लामो समयदेखि समस्या भोग्दै आएका थिए।
जनश्रमदान,नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र ताराखोला गाउँपालिकाको सहयोगमा सिलेका घर घरमा खानेपानीको पहुँच पुर्याइएको हो। एउटा धारोबाट दश/बाह्र घरले पानी उपभोग गर्दै आएका सिलेका ५७ घरमा हाल ५७ वटा धारा निर्माण भएको छ। एक घर एक धारा कार्यक्रम अन्तर्गत सो खानेपानी आयोजना निर्माण भएको हो।
पुरोना खानेपानी योजना जीर्ण बनेपछि गाउँमा खानेपानीको समस्या बढ्दै गएको र त्यसको समाधानका लागि नेवासँग माग गरि समाधान गरेको सिले वासमर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षले जानकारी दिएका छन्। गाउँमा नै एक घर एक धारा निर्माण भएपछि स्थानीयलाई राहत मिलेको छ। सो आयोजना ३७ लाख बढी लागतमा निर्माण सम्पन्न भएको हो।