काठमाडौं। सुनसरीको धरान–२० अन्तर्गतको चिन्डे डाँडा भ्यू टावर वरपरको पूर्वाधार विकास गरिने भएको छ। पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएको भ्यू टावर परिसरमा थप पूर्वाधार विकास गर्न लागिएको हो। नेपाल सरकार, सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाईले कार्य गर्न लागेको हो।
पर्यटकलाई अझ बढी आकर्षित गर्ने लक्ष्यका साथ पूर्वाधार विकासको योजनालाई अघि बढाइएको हो। आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल धरानमा पछिल्लो समय पर्यटकलाई लक्षित गरेर विभिन्न पूर्वाधारहरु निर्माण भइरहेको छ। संघीय आयोजना कार्यान्वयन इकाईले भ्यू टावर परिसरमा पूर्वाधार निर्माण गर्नको लागि बोलपत्र आह्वान गरेको छ।
कोरोनाको कारणले थलिएको पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउनको लागि पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दिइएको छ। यसले पर्यटन प्रवद्र्धनमा मद्धत पुर्याउने छ। साथै आर्थिक गतिविधि पनि बढ्ने देखिएको छ। भ्यू टावरबाट दृश्यावलोकन गर्न आउने पर्यटकहरुलाई सेवा तथा सुविधा दिने हेतुले त्यस परिसरमा पूर्वाधार विकास गर्न लागिएको हो।