काठमाडौं। करिब ३ वर्षअघि सन्धिखर्क नगरपालिका–९ अर्घामा रहेको काफलपानी पँधेरो सुकेको थियो। सन्धिखर्कका ५० घर परिवारले त्यही पँधेरोबाट पिउने पानी प्रयोग गर्दै आएकोमा हिउँदको याममा टाढाको अर्को पँधेरोबाट पानी खान त्यहाँका स्थानीयहरु बाध्य भएका थिए।
रोजगारी तथा अध्यनको सिलसिलामा युवाहरु विदेशिए पछि बृद्धबृद्धाहरुलाई निकै सास्ती भएको थियो। तर गत वर्ष भने ठूलो खडेरी लाग्दा पनी पानी नसुकेपछि स्थानीयहरु खुशी भएका छन्। स्थानीय युवा समाजसेवी तथा व्यवसायी कृष्ण प्रसाद भुसाल र पत्रकार हरिप्रसाद भुसालको नेतृत्वमा सुरु भएको दश घर एक पोखरी अभियानले दुई वर्ष अघि काफलपानी पँधेरो भन्दा माथि नेटाका पोखरामा पोखरी खनेपछि काफलपानी पँधेराको पानी नसुकको हो।
नेटाकापोखरा मात्र होइन दुई वर्ष अघि सुरु भएको दश घर एक पोखरी अभियानले अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा साना तथा ठूला गरी करिब ४० वटा भन्दा बढि पोखरीहरु निर्माण गरेको थियो। बढ्दो जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दैँ जान थालेपछि सुक्न थालेको पानीको मुहान संरक्षण गर्नका लािग पोखरी निर्माणको अभियान सुरु गरिएको हो।
दुई वर्ष अघि खनेका पोखरीहरुले खडेरीमा समेत मूल मर्न नदिएपछि अभियन्ताहरुले गएको तिहारमा लायन्स क्लब अफ अर्घाखाँचीसंग समन्वय गरी देउँसी भैलोबाट उठेको पैसाबाट हाल रिचार्ज पोखरी खनिरहेका छन्। हालसम्म अर्घाखाँचीमा ५ वटा पोखरी खनिसकेको र ५ वटा पोखरी खन्ने कार्य जारी रहेको छ। विकासको क्रममा बाटो, खेल मैदान र अन्य संरचनाहरु निर्माण हुँदा धेरै ठाउँमा पोखरीहरु पुरिएको र पोखरीहरु पुरिएकै कारण अर्घाखाँचीमा पानीको समस्या झन बढेको निष्कर्ष सहित दशघर एक पोखरी अभियानको सुरुवात भएको थियो।