बागलुङ। बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–२ सिलेमा एक घर एक धारा निर्माण गरिएको छ। ३७ लाख ३५ हजार लागतमा नेवा खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै सिलेका प्रत्येक घरमा धारा जडान गरिएको हो।
सिलेका बासिन्दा आफ्नै घरको धाराबाट खानेपानी उपभोग गर्न पाउँदा खुसी भएका छन्। एउटै धाराबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले सिले गाउँमा एक घर एक धारा निर्माण भएको हो।
सिलेमा दुई दशकअघि लुर्थन संस्थाले व्यवस्थापन गरेको खानेपानी नै स्थानीयले अहिलेसम्म उपभोग गर्दै आएका थिए। लामो समयसम्म पुरानै आयोजनाको पानी प्रयोग गर्दै आउँदा गाउँमा खानेपानी अपुग हुने गरेको थियो। खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिकाले ‘नेपाल स्वास्थ्यका लागि पानी’ (नेवा)लाई आयोजनाको लागि आग्रह गर्यो।
नेवाले वि.सं. २०७६ सालमा गाउँमा सर्वे गरेपछि आर्थिक वर्ष २०७७/०७८ मा आयोजना परेको थियो। योजनाको निर्माण कार्य सम्पन्न भएपछि अहिले गाउँमा खानेपानी सहज भएको छ। ५७ घर रहेको सिले गाउँमा ५७ वटै धारा बनेका छन् ।
सिले वासमर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मोतीलाल रोका मगरले पुरानो खानेपानी योजना जीर्ण भएपछि गाउँमा पानी समस्या बन्दै गएको र त्यसको समाधान गर्न नेवासँग माग गरेको बताए। नेवाको २० लाख ४१ हजार ३२९, ताराखोला गाउँपालिकाको ६ लाख र समुदायको १ लाख ९० हजारको जनश्रमदानमा सिले गाउँमा एक धारा निर्माण गरिएको हो।