धनुषा। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको शनिबार सफल परीक्षण गरिएको छ।
लामो समयसम्म थन्किएको भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेका बेला शनिबार परीक्षण गरिएको हो।
भारतीय रेल्बे कम्पनी कर्पोरेसनबाट विसं २०७७ असोज २ गते खरिद गरेर ल्याइएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको छ। पार्किङ गरी राखिएका रेलको शनिबार परीक्षण गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जन झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायत टोलीलाई चढाएर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म करिब ३९ किलो मिटरको सो रेल्वे लिकमा रेलको परीक्षण गरिएको छ।
रेलको सफल परीक्षण पश्चात नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक झाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै छिट्टै रेल सेवा सञ्चालको तयारी भइरहेको बताए।