चितवन। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने भएको छ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी हुन्।
धुर्मुस–सुन्तली फाउण्डेशनले अब रंगशाला निर्माण कार्य अघि बढाउन नसक्ने भन्दै स्वामित्व लिनका लागि महानगरलाई पत्र दिएपछि महानगरले जिम्मेवारी लिने भएको हो। फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व महानगरपालिकाले लिने प्रमुख दाहालको भनाइ छ।
उनले भनिन्, ‘हामीले प्रक्रिया अघि बढाइसकेका छौँ। हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने हो। स्रोत जुटाएर निर्माण सम्पन्न गर्ने दायित्व धुर्मस सुन्तली फाउण्डेशनको हो। उहाँहरुलाई हामीले सहयोग पनि गरेका हौँ। तर अहिले १७ करोड ऋण लागिसक्यो गर्न सक्ने स्थिती भएन भनेपछि ऋण लगाएर गर्ने कुरा भएन।’
प्रमुख दाहालले फाउण्डेशनले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताइन्। उनले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने समेत बताइन्।
प्रमुख दाहालले सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।