काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न मन्त्रालयहरुलाई निर्देशन दिएका छन्। मन्त्रालयमा हालसम्मको विकास खर्चको समीक्षा बैठकमा मन्त्री शर्माले विकास खर्च बढाउन सचिवहरूलाई निर्देशन दिएका हुन्।
मन्त्री शर्माले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको बताउँदै जसरी पनि खर्च गर्न आग्रह गरेका छन्। उनले भने, ‘आर्थिक वर्षको ६ महिना बितिसक्यो। बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ। त्यसको लागि मैले रातको १२ बजे पनि तपाईँहरूलाई सहयोग गर्न तयार छु।’
मन्त्री शर्माले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिए। ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने अर्थमन्त्रीको भनाइ छ।