काठमाडौं। चीनको बेइजिङ–चाङ्च्याखौ तीव्र गतिको रेल सञ्चालनमा आएको छ। चीनले हिउँदे ओलम्पिकलाई लक्षित गरी निर्माण गरेको रेल शुक्रबारदेखि औपचारिक रुपमा शुरु भएको हो।
चीनले फेब्रुअरी ४ देखि २० सम्म चल्ने हिउँदे ओलम्पिक खेलकुदको अवधिमा खेलसम्बद्ध यात्रुहरूको सहजताका लागि रेलसेवा सञ्चालनमा ल्याएको हो। यस अवधिमा रेलले दैनिक ३४ पटकसम्म ओहोरदोहोर गर्ने बताइएको छ। हिउँदे ओलम्पिक खेलकुदका गतिविधिहरू बेइजिङ र छिमेकी हपेइ प्रान्तको चाङच्याखौमा सञ्चालन हुने भएकाले सर्वसाधारण र खेल सम्बन्धित यात्रुका लागि विशेष प्रबन्ध गरिएको छ।
ओलम्पिक रेलका लागि सम्बन्धित स्वयंसेवीहरूले कोरोना महामारी रोकथाम तथा नियन्त्रण, सेवा शिष्टाचार, विदेशी भाषा, सांकेतिक भाषालगायत तालिम लिएर पूर्ण तयारी गरिसकेका चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो हाइस्पीड रेलमार्ग सञ्चालनमा आएपछि चीनमा रेलमार्गको लम्बाइले ४० हजार किलोमिटर नाघेको छ। इन्टेलिजेन्स हाइस्पीडको दुनियाँमा पैतौ स्याटलाइट नेभिगेसन सिस्टम जडित यो नै चीनको पहिलो घरेलु आविष्कार हो। विश्वको पहिलो इन्टेलिजेन्ट हाइस्पिड रेलको गति प्रतिघण्टा ३५० किलोमिटर छ।