नुवाकोट। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको निर्माण ४७ प्रतिशत सकिएको छ। गत आर्थिक वर्ष २०७२/७३ देखि निर्माण सुरु गरिएको उक्त सडकअन्तर्गतको नुवाकोट, रसुवा र धादिङतर्फका स्थानबाट एकसाथ काम भइरहेको हो।
कालोपत्रे, पुल निर्माण, पहिरो नियन्त्रण रिटेनिङ वाल लगाउने र सडक चौडा बनाउने काम भइरहेको छ। गल्छी–त्रिशूली खण्डको बुधसिङघाट कल्चौडे भीरको कटिङ सम्पन्न भएको छ। यसको कालोपत्रेसमेत गरिसकिएको जनाइएको छ।
११ मिटर चौडाइको डबल लेनको सो सडकखण्डमा कुल ३२ वटा पक्की पुल, एउटा फ्लाइ ओभर निर्माण र चारवटा पहिरो नियन्त्रणको काम रहेको बताइएको छ। आगामी आव २०७९/८० भित्र सबै निर्माण गरिनुपर्ने सो सडकको मुख्य समस्या मुआब्जाको विवाद रहेको छ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसवागढी सडक योजनालाई अहिले ३ खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ।
सो सडक विस्तारमा कुल १५ अर्ब ५० करोड रुपैयाँको लागतको अनुमान छ। जसमध्ये ९ अर्ब ५० करोड निर्माण तथा ६ अर्ब मुआब्जा तथा क्षतिपूर्तिका लागि कायम रहेको कार्यालयले जनाएको छ। अहिलेसम्म उक्त सडकमार्गको २१ किलोमिटर कालोपत्रे, ८ वटा पुल निर्माण भइसकेको छ।