काठमाडौं। काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ। आगामी जेठमा निर्माण सम्पन्न हुने गरी पुल बनाउन लागिएको हो।
आईतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त पुलको शिलान्यास गरेका हुन्। पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए। स्थानीयहरुको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने उनले जानकारी दिए।
काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ। त्यसमा पनि चाबहिल चोक अति जाम हुने ठाउँ हो। बाटो फराकिलो छ तर जाम हुन्छ। पहिला पनि यहाँ स्थानीयहरुको मागअनुसार चाबहिल चोकको दक्षिणपटि एउटा पुल हामीले बनाइसक्यौँ। त्यो पुल धेरै उपयोगी पनि भयो। धेरैले सरहाना पनि गरेको उनले बताए।
उक्त पुलको ठेक्का सविरा कन्स्ट्रक्शनले पाएको छ। पुल २०७९ जेठ मसान्तसम्म निर्माण सकिसक्नु सर्त छ। दुवै पुल ३३ मिटर लम्बाई र २ मिटर चौडाईको हुनेछ। पुलको लागत एक करोड ३० लाख ४२ हजार ५७८ रुपैयाँ रहेको छ।