काठमाण्डौं। स्तरोन्नतिका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आजदेखि दैनिक ६ घण्टा बन्द हुन थालेको छ। राष्ट्रिय गौरवको उत्तर।दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नं २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न थालिएको हो।
सडकमा यातायात सञ्चालन हुने समय तालिका लागू भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका र मुस्ताङका बासिन्दा, तीर्थयात्री, पर्यटक र व्यवसायी प्रभावित भएका छन्।
आयोजना प्रमुख जगत प्रजापतिले यही माघ २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ देखि ४ बजेसम्म यातायात सेवा बन्द गरेर विस्तार र निर्माणको काम गर्न समयतालिका तय गरिएको जानकारी दिए।
“महभिर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा विस्तार एवम् स्तरोन्नतिका लागि समय तालिका बनाएका छौँ,” उनले भने “दुर्घटनाको जोखिम न्यूनीकरण र निर्माणको कामलाई व्यवस्थित तथा तीव्र बनाउन यातायात सञ्चालनको समयतालिका बनाउनुपरेको हो।”
विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा हाल निर्माण भइरहेको छ।
मजदुर एक्साभेटर लगायत उपकरण परिचालन गरेर सडक निर्माण र स्तरोन्नतिलाई तीव्रता दिइएको कम्पनीका प्रतिनिधिले बताएका छन्।