काठमाडौं। बाढीले क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुनः सुरु भएको छ। राजधानीवासीलाई पानी पुनः वितरण गर्ने लक्ष्यका साथ फेरि काम सुरु भएको हो।
२०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै २०७८ असार १ गतेको बाढीले मुहान नै ध्वस्त बनाएको थियो। ध्वस्त संरचनाको पुनर्निर्माणको काम यसअघि नै निर्माण जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु गरेको बताइएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गत हप्ता राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै यसै वर्षभित्र मेलम्चीको पानी पुनः काठमाडौँमा आउने बताएका थिए। मेलम्ची पुनः सञ्चालनका लागि अर्थ मन्त्रालयबाट आवश्यक बजेटसमेत सुनिश्चित छ। काममा हुने खर्चअनुसार बजेट निकासा हुँदै जाने मन्त्रालयबाट प्रतिबद्धता भएको जनाइएको छ।
मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याउन तयार पारिएको कार्ययोजना सम्पन्न गर्न आवश्यक पर्ने डेढ अर्ब रुपियाँका लागि अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको बताइएको छ। अस्थायी सुरुङ करिब दुई मिटर पुरिएको छ भने मुख्य सुरुङ सुरक्षित रहेको छ। अहिलेसम्म लगभग ३५ अर्ब रुपियाँ लगानी भइसकेको छ।