दार्चुला। खलङ्गापारि महाकाली नदीमा भारतीय पक्षले गरेको तटबन्ध निर्माण कार्यप्रति राष्ट्रिय जनमोर्चा पार्टीले आपत्ति जनाएको छ।
अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी खलङ्गापारि महाकाली नदीको प्राकृतिक बहाव रोक्ने उद्देश्यले भारतीय पक्षले गरेको तटबन्ध निर्माण कार्यप्रति आपत्ति जनाएका हुन्।
विज्ञप्तिमा नेपालसँग सहमति नलिई भारतले एकलौटी ढङ्गबाट गरेको तटबन्ध निर्माण कार्यले नेपालतर्फ वर्षायाममा हुनसक्ने सम्भावित क्षतिका कारण तत्काल कार्य रोक्न सरकारसँग माग गरिएको छ।
भारतले अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमा नेपालको सहमति नलिई एकलौटी ढङ्गबाट संरचना निर्माण कार्य अगाडि बढाएर अन्तर्राष्ट्रिय नियम, कानून तथा प्रचलनको अतिक्रमण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
अन्तर्राष्ट्रिय नियमअनुसार अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्र महाकाली नदीमा नेपाल तथा भारतले आफ्नो भू–भागभित्र कुनै भौतिक संरचना निर्माण गर्नुपरेमा एकअर्काको मुलुकको सहमति लिनुपर्नेमा त्यसो नगरी नेपालको सार्वभौमसत्ता तथा अखण्डतामाथि भारतले गरेको हस्तक्षेपप्रति सरकार भारतीय पक्षसँग दृढतापूर्वक प्रस्तुत हुन जनमोर्चाले सुझाव समेत दिएको छ।