काठमाडौं। राष्ट्रिय गौरबको बेनी – जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सबैभन्दा कठिन मानिएको काभ्रेभीरमा सडक फराकिलो बनाउन सुरु गरिएको छ। विस्फोटक पदार्थ मार्फत ब्लास्टिङ गरेर पहाड फुटाउन सुरु गरिएको हो।
म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रेभीरको अक्करे पहाड फुटाउन गत वर्षदेखि नै विस्फोटक पदार्थको प्रयोग गरिएको थियो। बाँकी खण्डमा यसपाली फेरि ब्लाष्टिङ मार्फत पहाड फुटाएर सडक फराकिलो बनाउन लागिएको बताइएको छ।
कम्तीमा दोहोरो सवारी आवतजावत हुने गरि सडक फराकिलो बनाउने लक्ष्य राखेर काम अगाडी बढाएको जनाएको छ। काभ्रेभीरमा १६ सय मिटर सडकको ब्लास्टिङ गर्नुपर्नेमा करिब ४ सय मिटरको ब्लास्टिङ यस अघि नै सकिएको छ।
दिउसोको दुईबजे देखि साँझ ६ बजेसम्म यातायात बन्द गरेर ब्लाष्टिङ गर्ने गरिएको छ। सडक फराकिलो बनाउन करिब दुई महिनाभन्दा बढी समय लाग्ने बताइएको छ।
हाल लगभग साढे तीन मिटर फराकिलो रहेको सडकलाई कम्तीमा आठ मिटरसम्म फराकिलो बनाइने भएको छ। बेनी–जोमसोम–कोरला सडकलाई ११ मिटर चौडा बनाउने मापदण्ड रहे पनि अक्करे पहाड भएकाले काभ्रेभिर क्षेत्रमा भने ६ देखि ८ मिटरसम्म फराकिलो बनाइने भएको छ।