काठमाडौं। सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा क्रेन भाँचिएर दुई जना श्रमिक सुरुङभित्र खसेका छन्।आयोजनाको भर्लेनीस्थित पावरहाउस निर्माणस्थलको ठाडो सुरुङ निर्माणस्थलमा पाइप निकाल्ने क्रममा क्रेन भाँचिएर श्रमिकहरु सुरुङभित्र खसेका हुन्।
आज बिहान भएको घटनामा सुरुङभित्र खसेका एक जना श्रमिकको अझै उद्धार हुन सकेको छैन भने एक जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ।
पर्साको कोटेश्वर गाउँपालिकाका २० वर्षीय अंकित चौधरीलाई घाइते अवस्थामा उद्धार गरेर संखुवाभसाको मिसन अस्पतालमा पठाइएको र सुरुङभित्र खसेका बाराको कोहोल्बी नगरपालिका १ का २२ वर्षीय राकेश चौधरीको उद्धार गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
पाइप निकाल्ने क्रममा क्रेन भाँचिएपछि उनीहरु सवार रहेको बकेट करिब १६० मिटर गहिरो सुरुङमा खसेको बताइएको छ।
गत ११ पुषमा यही आयोजनामा परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पड्किएर आयोजनामा कार्यरत दुई जना इन्जिनियरको मृत्यु भएको थियो ।