धादिङ। नेत्रावती डबजोङ गाउँपालिका–५ स्थित कटुन्जेमा नेपालका प्रथम कवि सुवानन्द दासको प्रतिमा अनावरण गरिएको छ।
संघीय सांसद खेम प्रसाद लोहनी, पालिका अध्यक्ष दुगंकुमार शाक्य, साहित्यकार तथा अनुसन्धाता डा. नवीनवन्धु पहाडी एवं कवि राजु झल्लु प्रसादले संयुक्त रुपमा मूर्ति अनावरण गरेका हुन् ।
गाउँपालिकाको ५ लाख लागतमा दासको मूर्ति निर्माण गरिएको बताइएको छ। मूर्ति अनावरण कार्यक्रममा पुस्तक पनि विमोचन गरिएको छ। मूर्ति अनावरण समारोहकै अवसर पारी गाउँपालिकाको एतिहासिक अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । अनुसन्धान प्रतिवेदन पहाडीले पेश गरेका हुन् ।
वि.सं.१८२५ आसपास कवि सुवानन्द दासले रचना गरेको पृथ्वीनारायण शाह कविता नेपाली भाषाको पहिलो कविता मानिएको छ। यो कविता इतिहासकार बाबुराम आचार्यले सङ्कलन गरेका थिए। पृथ्वीनारायण शाहसँग सम्पर्क र सम्बन्ध भएकै कारणले दासले नेपाली भाषाकै प्रथम कविता पृथ्वीनारायण शाह (राजैभक्तिकृत) रचना गरेको डा.पहाडीले जानकारी दिए ।
डा.पहाडीले दासको परिवार धादिङ हाल नीलकण्ठ नरपालिकाको साङ्कोष र कटुञ्जेको सीमा क्षेत्रका बासिन्दा हुन् र उनको परिवार टोड्केमा व्यापार गर्ने बताए।
उनले भने, ‘दासका परिवारिको व्यापारकै क्रममा गोर्खाली राजाहरुसँग सम्पर्क भएको हो । एकीकरण अभियानका क्रममा उनीहरुले नै धादिङमा राजाका लागि हतियार खरिदका निमित्त १/१ रुपैयाँ उठाउन सघाएका थिए। त्यसैले पनि सुवानन्द दासका लागि कविता लेखनका शास्त्रीय अनेक विषयहरु एवं तत्कालका लागि लेखनका अनेक आदर्शहरु हुँदाहुँदै पनि उनले पृथ्वीनाराण शाहलाई नायक मानेर कविता रचना गरेका हुन् ।’