रुपन्देही। रुपन्देहीको तिनाउ नदीमा पुल निर्माण गर्न शुरु गरिएको छ। बुटवल उपमहानगरपालिका–१७ हरिहरपुर र तिलोत्तमा नगरपालिका–४ डिङ्गरनगरलाई जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण शुरु गरिएको हो।
दुई वर्षभित्र निर्माण सम्पन्न हुने उक्त पुलको लागत २० करोड ६४ लाख रहेको छ। सडक विभाग अन्तर्गत ठेक्का भएको उक्त पुल दुई सय मिटर लम्बाइको हुनेछ।
चार स्पान रहने सो पुल पाइल फाउण्डेशनको आधारमा निर्माण हुनेगरी डिजाइन गरिएको छ। प्रि–स्टेस ब्रिजको ११ मिटर चौडाइमा साढे ३ मिटर फुटपाथका लागि छुट्याइएको छ। पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको पहलमा बन्न लागेको डिङ्गरनगर–हरिहरपुर तिनाउ नदी पुलको निर्माणले आवागमनमा सहज हुने स्थानीयको भनाइ छ।
पुल निर्माणको ठेक्का शर्मा–सगुन जेभीले प्राप्त गरेको छ। निर्माण कम्पनीका सुशील बुढाथोकीले तोकिएको समयभन्दा अघि नै पुलको निर्माण कार्य सक्नेगरी काम अघि बढाइएको बताए।