काठमाडौं। खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची आयोजनाको पुनःनिर्माण कार्य समयमै सक्न आयोजना र निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
मन्त्री चौधरीले आगामी चैत मसान्तभित्र काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने गरी काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।
आयोजनास्थलको स्थलगत निरीक्षण गर्न मेलम्ची पुगेका मन्त्री चौधरीले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई सम्झौताअनुसार निर्धारित मितिमै द्रुत गतिमा काम पूरा गर्न निर्देशन दिएका हुन्।
परीक्षणका रुपमा सो आयोजनाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गरिएकामा गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिराले गम्भीर क्षति पुर्याएको थियो। त्यसयता, आयोजनाको पुनःनिर्माणका लागि सरकारले सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यही माघ ७ गते देशवासीको नाममा सम्बोधन गर्ने क्रममा यसै वर्षभित्र आयोजनालाई पुनःसञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।