काठमाडौं। जयनगर–कुर्था मार्गमा रेल सञ्चालनका लागि तयारी पूरा भएको छ । रेलमार्ग सञ्चालनका लागि नेपाल–भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने मिति तोक्न छलफल भइरहेको हो।
नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि कानुन (अध्यादेश), बजेट, एसओएस, प्राविधिक र आवश्यक कर्मचारीलाई तालिम दिइएको जानकारी दिए। रेल सञ्चालनका लागि ६० जना कर्मचारीलाई भारतीय प्राविधिक र रेलका कर्मचारीबाट तालिम दिइएको छ। दुई देशका प्रधानमन्त्रीस्तरबाट उद्घाटन हुने भएकाले रेल सञ्चालनको मिति तय हुन नसकेको उनले बताए।
आउँदो फेब्रुअरी दोस्रो सातासम्म दुवै देशका प्रधानमन्त्रीबाट रेल सेवा उद्घाटन गराउने गरी काम भइरहेको झाले जानकारी दिए। कुर्थादेखि जयनगरसम्म चल्ने रेलवे सेवाको भाडासमेत तय भइसकेको छ । कुर्था–जयनगरसम्म एसी बोग्गीमा प्रतिव्यक्ति ३ सय रुपैयाँ र सामान्यमा प्रतिकिमि २ रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
रेल सेवाको सुरक्षाका लागि सशस्त्र प्रहरीको डीएसपीको नेतृत्वमा १ सय ६० सदस्यीय कार्यदल गठन प्रक्रियासमेत अगाडि बढाइएको झाले जानकारी दिए।