काठमाडौं । मेलम्ची खानेपानी आयोजना पुर्नस्थापनाका लागि एसियाली विकास बैंक एडीबीले खर्च नगर्ने भएको छ ।
बाढीग्रस्त आयोजनालाई मर्मत गर्न एडीबीले लगानी नगर्ने बताएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासु पौडेलले जानकारी दिनुभएको हो ।
आयोजना पुर्नस्थापनाका लागि नयाँ ठेक्का लगाउने तयारी भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठेक्का लगाउन अनुमति माग्दै मन्त्रिपरिषदमा कार्ययोजना प्रस्ताव पठाएको छ।
एडीबीको ऋण सहयोगमा बनेको आयोजना पूरा नहुँदै बाढीले क्षतिग्रस्त बनाएको थियो । अब सरकारले आफ्नै स्रोत प्रयोग गरेर आयोजना पुर्नस्थापित गर्ने भएको हो ।
मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्मको २२ किलोमिटर पहुँचमार्गमध्ये क्षतिग्रस्त ८ किलोमिटर सडकमार्गको नयाँ ट्रयाकनै खोल्नुपर्ने छ भने अरु खण्ड स्तरोन्नति गर्नुपर्ने छ ।
असार १ गते सुरुङको अवस्था जाँच्न र आवश्यक मर्मत गर्न भन्दै दुई महिने कार्यतालिका सार्वजनिक गरेर मेलम्चीको खानेपानी आयोजनाले सुरुङमा पानी भर्न बन्द गरेको थियो । त्यही दिन राति मेलम्ची नदीमा आएको बाढीले आयोजनाको मुहानको संरचना पुर्नुको साथै त्यहाँसम्म पुग्ने सडक पनि बगाएको छ ।