काठमाण्डौं। ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ। पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो।
बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो। सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको छ। सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग ४० करोड ७६ लाखमा ठेक्का सम्झौता भएको जनाएको छ।
दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको बताइएको छ। पाथीभरा जाने सडक कालोपत्र भएपछि पाथीभरामा पूजापाठ गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढ्ने विश्वास गरिएको छ।
उक्त सडक कालोपत्र भएमा तीर्थयात्रीले लिएर आएको गाडी नै पाथीभरा क्षेत्रसम्म पुग्ने हुँदा देश विदेशका तीर्थयात्रीलाई सहज हुनाका साथै ठूलो राहत मिल्ने भएको छ। यता पाथीभारा क्षेत्रको कालोपत्र भएपछि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक तथा तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने र यसले समग्र जिल्लाको आम्दानीसमेत बढ्ने होटेल व्यवसायीहरुको अपेक्षा छ।