काठमाडौं। देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुंगा सुरुङमार्गको निर्माणमा ढिला भएको छ। सुरुङमार्गमा कार्यरत १२७ जनामा संक्रमण देखिएपछि केही दिनयता निर्माण नियमित भन्दा केही ढिला भएको हो।
संक्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन। कामदार निर्माणस्थलमै ‘आइसोलेशन’मा बसिरहेको र अरू कर्मचारी आ–आफ्नो घरमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले बताएको छ। शारीरिक रूपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाले जनाएको छ।
निर्माणस्थलमै प्रत्येक पाँचपाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरूबाट अलग बस्ने गरेको आयोजनाले बताएको छ। आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकोमा अहिले दैनिक ६–७ मिटर मात्र खनिएको छ।
‘निर्धारित समयमा काम सकाउन दैनिक १० मिटर गरेर महिनामा ३०० मिटर खन्ने गरिएकोमा अहिले संक्रमण बढेकाले केही समस्या भएको आयोजनाले बताएको छ। आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले निर्धारित समय तालिकाभन्दा निर्माण झन्डै डेढ महिना ढिला छ। निर्माणको काम गरिरहेको जापानी कम्पनीले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने बताइरहेको छ।
निर्माणस्थलमा जग्गाको विवाद रहेकोमा अहिले त्यो समाधान भइरहेको छ। धादिङतर्फ पुरानो विवाद बाहेक नभएको र काठमाडौंतर्फ बलम्बुमा जग्गा अधिग्रहणको काम अघि बढिरहेको आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए।
उक्त आयोजनास्थलमा अहिले नेपाली र विदेशी गरी झन्डै ५६० जना कार्यरत छन्। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा–नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ। यससँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ।