काठमाडौं। डोटीको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाको गलागाडमा मोटर चल्ने पक्की पुल निर्माण हुने भएको छ। गाउँपालिकाको वडा नं १ र २ अन्तर्गतका सिमचौर–केदारअखडा जोड्नका लागि ४ करोड ५० लाख रुपैयाँको लागतमा उक्त पुल निर्माण हुने भएको हो।
उक्त पुलको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले शिलान्यास गरेका छन्। पुलको अभावमा यस स्थानका स्थानीयले सास्ती भोग्दै आएका थिए। पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरदेखि बोगटान जोड्ने सडक खण्ड अन्तर्गत पर्ने गलागाड खोलामा निर्माण हुन लागेको पक्की पुलले यहाँका नागरिकलाई निकै सहज हुने विश्वास गरिएकोे छ।
उक्त खोलामा मोटर चल्ने पुल निर्माण भएपछि जिल्लाकै दुर्गम मानिने कानाचौर क्षेत्र अब सडक सञ्जालबाट पालिका र जिल्ला सदरमुकामसम्म जोडिने भन्दै स्थानीयमा खुसीयाली छाएको बताइएको छ। मोटर पुलसम्म बाटो निर्माणका लागि गाउँपालिकाबाट ५० लाख र प्रदेश सरकारबाट ३५ लाख रुपैयाँ खर्च भइसकेको पालिकाले जनाएको छ।
सडक डिभिजन कार्यालय कुल्पाते दिपायल अन्तर्गत यो पुलका लागि ठेक्का भइसकेको बताइएको छ। पुलको लम्बाई २५ मिटर रहेको र निर्माणको जिम्मा नेपाल मेघा सिस्ने कन्स्ट्रक्सनले पाएको छ।